आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को लागि
ले हेर्नुस् रामेश्वोर् खनाल को खुलसा, नातेदार को त कुरै छोडौ आफ्नो जात भन्दा माथि उठ्न नसक्ने हरु को आँखा खुल्छ कि यो अन्तर्वाता ले,
हुन त साझा को अरु पोस्ट मा यो भु पु सचिब ले एसो गर्याथ्यो भन्ने हरु पनि छन, इन्ले भ्रस्टाचार गर्या भए, एही मौका मा अख्तियर अदालत, सरकार, अथबा इन्को पूर्व निर्णये ले भ्रस्ताचार भएको लाग्या छ भने तेस्को सर्बोच्छ अदालत मा निबेदन दिये भै हाल्यो, खुसुक्क कोठे complain गर्नु भन्दा, त्यस्तो कोठे complain त जस्ले पनि गर्न सक्छ नि। हिम्मत वाल हरु ले काम ले देखौछन लाछी हरु complain र खुट्टा मात्र तान्चन्। ल जो जो इ खनाल को बारेमा एसो गर्या थ्यो उसो गर्याथ्यो भनेर complain गर्ने हरु इन को बारेमा उजुरी हालेर देखौनुस् आहिले इनी पद मा पनि छैनन, सरकार पनि इनी सँग खुस छैन, इन्की श्रीमती ले नाजयेज् फाईदा उठायेको भये पनि उजुरी हालम् आफ्नो नाम ठेगाना शाहीत, देस को लागि मान्छे ज्यान दिन्चन , तपाईं हरु तेती पनि गर्न सक्नु हुन्न? कि जिन्दगी मा complain बाहेक अरु केही गर्न जान्या छैन? साझा मा आएर एसो गर्यो उसो गर्या थ्यो भन्नु भन्दा उजुरी गरेर देश को लागि एउटा राम्रो काम गरे कसो होला? कि पाच् बर्ष को बच्चा को जस्तो complain गर्दै जिन्दगी बितौने बिचार छ? इनी आफ्नो सिद्दान्त मा आफ्नो ससुरा पर्ने मान्छे सँग झुक्दा राइच्न (एस्तो बेला त इनी भस्तचरी भको भये इन्लाई पैसा कमौन झन सजिलो हुन्थ्यो होला नि)
ल जहिले पनि complain गर्ने हरु लाई मेरो challenge छ तपाईं हरु को लागि यो उत्तम मौका हो प्रमाण भये प्रमाण शाहीत, प्रमाण नबह्ये इन्को भर्स्तचार गर्ने आशाये शाहीत को उजुरी हालम्,
सचिब भको बेला इन्की श्रीमती ले कुन चाँही गोप्य सुचना बाट लाभ लीइन कम्सेकाम तेस्को त उजुरी हाल्नुस् मर्द को छोरा हो भने
कि तपाईं हरु इनी सचिब भको बेला भन्या अनुसार को भन्सार मा जान नपाएर भन्या अनुसार को प्रोजेक्ट मा जान नपाएर भन्या अनुसारको गर्न नपाएर मौका मा इन्को खुट्टा तान्न आउनु भको?
:: गृहपृष्ठ » मुख्य समाचार »
'थुकेको थुक चाट्दिन'
'मैले अठोट लिइसकेँ अब म फेरि काममा फर्केर आउँदिन, फर्के भने त म मान्छे नै रहन्न । बगेको खोला फर्किदैन, थुकेको थुक चाटिँदैन'
कान्तिपुर संवाददाता
राजीनामा दिएर ट्रेकिङमा निस्किएका अर्थ सचिव रामेश्वर खनाल पत्रकार सम्मेलनमा । फोटो : कौशल अधिकारी
काठमाडौं, चैत्र २० - अर्थमन्त्रीसँगको विवादमा राजिनामा दिएको भनी चर्चा गरिएका अर्थसचिव रामेश्वर खनालले आफू कुनै पनि हालतमा फेरि अर्थमन्त्रालय नर्फकने बताएका छन् । 'मैले अठोट लिइसकेँ अब म फेरि काममा फर्केर आउँदिन, फर्के भने त म मान्छे नै रहन्न । बगेको खोला फर्किदैन, थुकेको थुक चाटिँदैन,' आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भने ।
राजीनामापछि सीधै गृहजिल्ला पाल्पा, पर्वत र कास्की पुगेर राजधानी फर्किएलगत्तै साक्षात्कारमा उपस्थित उनले अर्थमन्त्रीसँग सल्लाह नै गरेर राजीनामा दिएको बताए । 'अर्थमन्त्रीलाई टेलिफोनमा म राजीनामा दिन्छु भनेको थिएँ, अर्थमन्त्रीले तपाई मेरो साइनोको मान्छे तपाईलाई अझै माथिको पदमा पनि लाने विचार थियो राजिनामा नदिएको भए राम्रो हुन्थ्यो,' भनेको उनले सुनाए ।
शनिबार राति पनि अर्थमन्त्रीसँग आधा घण्टा टेलिफोनमा कुराकानी भएको र उनले 'काममा फर्कनुस् मिलेर काम गर्नु पर्छ' भनेको तर आफूले अब काममा नफर्कने जवाफ दिएको खनालले बताए । 'बाहिर आएजस्तो भ्याट छलीको विषयमा विवाद भएर राजीनामा नदिएको स्पष्ट पार्दै उनले पुरक बजेट ल्याउने विषयमा नेतृत्वले असहयोग गरेको महसुस गरेर आफै राजिनामा दिएको बताए । उनले भने, 'जहाजमा बसेपछि कि क्याप्टेनलाई सहयोग गर्नुपर्छ कि झगडा गर्ने हो भने त्यहाँ बस्नु हुँदैन । मैले त्यही गरेको हुँ ।'
उनले अर्थमन्त्रीले अर्थमन्त्रालयले बनाएको पुरक बजेटको मस्यौदाभन्दा बाहिरबाट अर्को मस्यौदा ल्याएपछि आफूलाई नेतृत्वले अविश्वास गरेको महसुस भएर राजिनामा दिएको बताए । अर्थमन्त्रीले बाहिरबाट तयार पारेर ल्याएको मस्यौदा वितरणमुखी, लोकप्रियतावादी र अरुलाई भोज खुवाउने खालको भएकोले राज्यको कोषले थाम्न नसक्ने देखेर असहमति जनाएको उनले स्पष्ट पारे । उनले प्रश्न गरे, 'मबाटै लुकाएर काम हुन थालेपछि कसरी म काम गर्न सक्छु र ?'
भ्याट छलीको विषय विवादको विषय नै नभएको स्पष्ट पार्दै उनले सो विषयमा कानूनभन्दा बाहिर जाने सबै कारबाहीको भागिदारी बन्ने भएकोले अर्थमन्त्रीले सो विषयमा कुनै दबाब नदिएको तर केही नरम बन्न सकिन्छ कि भनेर भनेको जानकारी दिए ।
प्रशासनले ठिक ढंगले काम नगरेकोले राजनीति ठिक हुन नसकेको भन्दै खनालले ४६ सालको आन्दोलनपछि क्रान्तिकारी कार्यक्रम लिएर आएका नेताहरुलाई अगतिलो कुरा प्रशासनका पञ्चायत मानसिकताका ब्यक्तिले भरी दिएकोले पनि राजनीति विग्रेको दाबी गरे । आफ्नो राजीनामाले कर्मचारी तन्त्रमा मनोवल बढ्ने दाबी गर्दै उनले भने, 'अब कसैले केही गर्यो भने पद छाड्छन् है भन्ने डर भयो ।'
आफ्नो राजीनामा राजनीति र आन्दोलनको विषय नभएको भन्दै यसलाई लिएर सदन अवरुद्ध पार्ने आन्दोलन गर्ने जस्ता काम नगर्न पनि आग्रह गरे । उनले भने, 'सभासदहरु संविधान बनाउने काममा लाग्नु पर्छ । मुलुकको हितमा छलफल गर्ने थलो संसदलाई अवरुद्ध पार्नु हुँदैन ।'
la padhnus arko antarbarta
मन्त्रीले असहयोग ठानेपछि राजीनामा गरेँ : अर्थ सचिव खनाल
Sunday, 03 April 2011 09:56 नागरिक
![E-mail](http://www.nagariknews.com/templates/nagarik/images/emailButton.png)
![Print](http://www.nagariknews.com/templates/nagarik/images/printButton.png)
अर्थ सचिव रामेश्वर खनालले राजीनामा दिएको विषयमा अनेकौं आशंका र जिज्ञासा जारी छन्। प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको जानकारी माग्दै संसद अवरुद्ध पारेको छ, अर्थमन्त्री भरतमोहन अधिकारी दैनिक आफ्नो कुनै गल्ती नभएको सफाइ दिँदैछन्। के हो त सचिव खनालको खास कारण जसकारण उनी राजीनामा गर्न विवश भए?
यही विषयमा शनिबार नागरिकका किरण भण्डारीले पर्वतको फलेबासस्थित मामाघर पुगेका सचिव खनालसँग लिएको टेलिफोन अन्तर्वार्ता-
सबैले हाइ हाइ गर्दागर्दै अर्थ सचिवबाट किन अकस्मात् राजीनामा दिनुभयो?
- म अकस्मात् बाहिरिएको होइन। लामो समयदेखिको उकुसमुकुस विष्फोट हुने साइत अहिले जुरेकोमात्र हो।
के उकुसमुकुस थियो?
- सहसचिवका रुपमा ८ वर्षअघि अर्थ मन्त्रालय प्रवेश गरेदेखि प्रत्येक दिन मेरो भेटघाट व्यक्तिगत स्वार्थका आग्रह बोकेर आउनेसँग हुन्थ्यो। त्यसले मलाई सधै दिक्क बनाउँथ्यो। बिदेश भ्रमण, आर्थिक सहायता, चन्दा, औषधोपचार, थप निकासा, विकास कार्यक्रमको फाइल बोकेर आउनेलाई मैले झेल्नुपर्थ्यो। सरकारले निर्णय गरेर त्यसरी दिने रकम सदुपयोग हुने भए यस्तो काम गर्दा आनन्द आउथ्यो। तर उनीहरुले व्यक्तिगत स्वाथपूर्ति गर्ने, कमाउने वा विकास ल्याएँ भनी जनता झुक्याउने दाउ गरेको प्रष्टै बुझिन्थ्यो।
म जानाजान त्यो पाप कर्मको सहायक बन्न चाहन्नथेँ। पेशागत धर्मअनुसार मैले दिने जवाफ तीतो हुन्थ्यो। फाइदाको आकांक्षा राखेर आएकाहरूले व्यक्तिगत रुपमा लिन्थे। संगठनको नियमानुसार गरेको हो भन्ने कमैले महशुस गर्थे। विदेश भ्रमणको लालसा बोकेर आएका सहकर्मी/समकक्षीलाई नाईँ भनेर फर्काउनुपर्दा अप्ठेरो हुन्थ्यो।
सरुवाका आकांक्षीहरुको व्यवहार पनि बैराग लाग्ने खालको हुन्थ्यो। वीरगञ्ज भन्सार सरुवा भएको कर्मचारी मलाई अन्याय भयो भनेर रुवावासी गर्दै आइपुग्थे- यस्तो दुःख पनि दिने हजुर भनेर उसकै स्वर ठूलो हुने। लाजै नमानी तातोपानी जान पाएको भए निसाफ हुन्थ्यो भन्थे। सहायक कर्मचारीदेखि शाखा अधिकृत, उपसचिवको आममनोवृत्ति यस्तै। यस्तो आशक्ति र लोभ भएकाहरूसँग म आजित भैसकेको थिए।
मन्त्रालयभित्र, बाहिर, राजनीतिज्ञ सबैबाट यस्ता स्वार्थपूर्ति गराउन दबाब आउँथ्यो। मेरो जीवनदर्शनले उनीहरुलाई रिझाउने अनुमति दिँदैनथ्यो। यी यस्तै कारणले 'झुक्नुभन्दा भाँच्चिनु बेस' भनेर थकाई मार्ने निर्णयमा पुगेको हुँ।
भाँच्चिनुपर्ने के कस्तो अवस्था आएको थियो?
- मैले जति सचिव र अर्थ मन्त्रीसँग काम गर्ने मौका पाएँ उहाँहरुले मेरो कार्यशैलीमा ठेस पुर्याउनुभएन। नेतृत्वको मप्रति एक किसिमको भरोसा र विश्वास थियो। त्यही भएर म जस्तोसुकै दबाबसामुन्ने झुकेको थिइन। बरु भाँच्चिन तयार थिएँ। नियम, कानुन मर्यादा धानेर बसेकै थिएँ। मुलुककै वरिष्ठमध्येका नेता भरतमोहन अधिकारी अर्थमन्त्री भएर आएपछि अवस्था अलिकति फरक भयो। उहाँले मेरो कार्यशैली अलि नरुचाएजस्तो लाग्यो। पुरक बजेटको तयारी भएको मैले अन्यत्रबाटै थाहा पाएँ। राम्रो लागेन।
मन्त्री निवास र अन्य प्रभावशाली व्यक्तिकहाँ काम भइरहेको सुनेँ। बजेट महाशाखा प्रमुख बोधराज निरौला पनि म जस्तै अनभिज्ञ।
तपाई र मन्त्रालयको 'सिष्टम'लाई बाइपास गरेर बजेट तयारी भएको रहेछ?
- पुरक बजेटको मस्यौदा अन्यत्र भैरहेको सुनेपछि मैले केही सैद्वान्तिक धारणा राखेको थिएँ। मन्त्रीज्यूले मेरो पेशागत रायलाई असहयोग ठान्नुभएछ। बाहिर-बाहिरै तयारी भएछ। यसको मतलव नेतृत्वको मप्रति विश्वास रहेन। नेतृत्वले विश्वास नगरेपछि कसिङ्गर बनेर बसिरहन सुहाउँदैन। आफू सहि नै भए पनि असम्कदारी भैसकेपछि वादविवाद गर्नु मलाई उचित लागेन। जहाज क्याप्टेनको निर्णयले हाँक्ने हो। मन्त्री क्याप्टेन हो। उसलाई संकटमा पार्न खोजियो भने जहाज डुब्छ। त्यसैले म हिँडेको हुँ।
शुद्धीकरणका लागि भित्रै बसेर संघर्ष गर्न सकिन्नथ्यो?
- अर्थ मन्त्रालय बाहिरै तयार भएको पुरक बजेटको मस्यौदा मैले पाएँ। मलाई बाइपास गरिएको छर्लङ्गै थियो। मन्त्रीज्यू मेरो सम्मानित व्यक्ति। अझ मेरो नाता (श्रीमतीका काका) पनि पर्नुहुन्छ। अनुभवी र सुपठित उहाँलाई जानेको सुझाव दिऊँ भन्ने लाग्यो। उमेर, ज्ञान, अनुभवमा म उहाँभन्दा धेरै काँचो छु। तैपनि वितरणमुखी बजेटको मस्यौदा भयो (भन्ने थाहा पाएँ)। खर्च गर्न स्रोत पुग्दैन। यस्तो बजेट मुनासिब हुँदैन। म भनिरहने, उहाँले सुनिरहनुभयो। जवाफ दिनुभएन।
पेशागत कर्तव्यअनुसार मैले दिएका सुझाव ग्रहण हुने अवस्था देखिएन। मैले असहयोग गरिरहेको छु भन्ने उहाँको धारणा मेटिएन। मन्त्रीको विश्वास नदेखेपछि उहाँलाई सजिलो बनाइदिनु मेरो कर्तव्य ठानेँ।
पुरक बजेट मस्यौदामा के-के त्रुटी थिए?
- पहिलो कुरा पुरक बजेट ल्याउन कति आवश्यक छ भन्ने हो। नयाँ सरकारलाई आफ्नो नीति नियमअनुसार कार्यक्रम ल्याउनै मन भए त्यसलाई अन्यथा मान्नु भएन। भलै आर्थिक वर्षको उत्तरार्द्वतिर ल्याइएका कार्यक्रम व्यवहारमा कार्यान्वयनको सम्भावना न्यून हुन्छ। त्यहाँमाथि बजेट असाध्यै वितरणमुखी थियो। प्रियतावादी कार्यक्रमले अर्थतन्त्रलाई दीर्घकालीन असर गर्छ।
अर्थमा बस्न असहज भएको भए अरु मन्त्रालयमा सरुवा भएर काम गर्न पनि त सकिन्थ्यो?
- मन्त्रीले मप्रति विश्वास गुमाइसक्नुभएको हो। तर वर्षौदेखि मैले अर्थ मन्त्रालयमा काम गरेर जुन छवि बनाएको छु त्यसले सरकारलाई सरुवा निर्णय लिन त्यति सहज थिएन। मैले सरुवा माग्न सक्थेँ। ३१ वर्ष सरकारी जञ्जालमा बिताइसकेँ। मात्रा बढीघटी होला। लोभ, लालच र फाइदाका लागि मरिमेटेर हिँडेका झुण्डसँगको उही दिनचर्या सुरु भैहाल्थ्यो। देश सेवा गर्ने एकमात्र माध्यम निश्चय नै सरकारमात्र हैन। त्यसैले सरुवा वा अरु विकल्पबारे मैले बिचार गरिन।
नक्क्ली भ्याट बिल प्रयोग गर्ने व्यापारी र युनिटी सञ्चालकमाथि भइरहेको कारबाही तुहाउन तपाईंलाई राजीनामा दिन बाध्य पारिएको विश्वास धेरैको छ?
- मलाई त्यस्तो लाग्दैन। (नक्कली) भ्याट बील जघन्य अपराध हो। अर्थमन्त्रीले नै नक्कली बील नक्कली नोट सरह हो भनिसक्नुभएको छ। त्यसैले सरकार उनीहरुमाथि कारबाही रोक्न चाहन्छ भन्ने आरोप मलाई सत्य लाग्दैन। युनिटीले हजारौं आम नागरिकमाथि ठगी गरेको छ। यसका सञ्चालकलाई जोगाउने धृष्टता कसैले गर्न सक्दैन भन्ने लाग्छ।
- भ्याट चोरीमा संलग्नलाई गर्ने सजायबारे मन्त्री तथा राजस्व सचिव र तपाईंको भिन्न धारणाले राजीनामाको अवस्था त आएको होइन?
- मैले लिइरहेको अडान त्याग्न दबाब थियो भन्ने व्यापक चर्चा भइरहेको छ। आन्तरिक राजश्व विभाग नक्कली भ्याट बीलको अनुसन्धान गरिरहेको छ। मैले थाहा पाएसम्म मलाई मात्र हैन उनीहरुलाई पनि कुनै दबाब दिइएको छैन। भ्याट बीलमा तीन किसिमको कारबाही हुनुपर्ने मुद्दा छन्। कानुनमै स्पष्ट व्यवस्था भएकाले भोलिका दिनमा त्यसमा तलमाथि होला भन्ने आशंका म गर्दिन।
एकथरि फर्मले हिसाबकिताब तलमाथि गरेर कर छली गरेका छन्। विश्वभरिको कर प्रशासनमा यो सामान्य प्रवृत्ति हो। आन्तरिक राजश्व कार्यालयले यसमा दण्ड जरिवाना असुलेर कारबाही टुङ्याउन सक्छ। अर्काथरि कर कार्यालयले मूल्याङ्कन गरेको यस्तो रकम तिर्न आनाकानी गरिरहेका छन्। बरु विभिन्न नक्कली कागजात बनाएर भुलाउने काम गरिरहेका छन्। यस्ता व्यापारीलाई जेल सजायसम्म गर्न सकिन्छ।
अहिले फेला परेको डरलाग्दो अपराध भ्याट बील, सही, छाप, विवरण सबै फर्जरी पेश हुनु हो। यो राजश्व चुहावट वा कर छली हैन। राजश्वको डकैती हो। यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्बन्धी कारबाही गर्ने तयारी आन्तरिक राजश्व विभागले गरेको थियो। यस्तो जघन्य अपराधमा विभागका अधिकारीले सम्झौता गरेर खुकुलो निर्णय गर्लान् भन्ने विश्वास मलाई छैन। कानुनले हदैसम्म सजाय तोकेको अपराधमा कसैले घटाउने दुस्साहस नगर्ला।
तपाईंको राजीनामाले संसद् अवरुद्व छ। मन्त्रीले तपाईंलाई फर्कन अनुरोध गर्नुभएको छ, पुनर्विचार गर्नुहुन्न?
- मलाई यो सबै घटनाले दुखी बनाएको छ। एउटा सामान्य कर्मचारीको राजीनामाले ज्यादा महत्व पाएको छ। फर्कने गरी मैले राजीनामा गरेको हैन। कोही पनि मानिस सिष्टममा अपरिहार्य हुँदैन, त्यस्तो बनाउनु पनि हुँदैन। मैले जहाँ-जहाँ काम गरेँ त्यो निकायमा सकेसम्म पद्दति बसाल्ने प्रयास गरेको छु। महालेखा नियन्त्रकको सहसचिवको रुपमा सरकारी हिसाब-किताब प्रणालीको जुन थिति बसाल्न काम गरियो त्यसले अहिले पनि मलाई सन्तुष्टि दिन्छ।
अर्थमा आएपछि पनि हामीले सबै विभाग र महाशाखाको कार्यसञ्चालन निर्देशिका बनाएका छौँ। जो आए पनि त्यही बिधिअनुसार गर्ने हो। कोही हुनु र नहुनुले फरक पर्नुहुँदैन। अर्थको संयन्त्र बलियो पनि छ। मेरो प्रस्थानले त्यो अझ मजबुत भएर जाने आशा लिएको छु।
निजामती प्रशासनमा धेरैले रोल मोडल मानेका तपाईं हिँडेपछि सरकारी जागिरमा असल मानिसको विकर्षण हुँदैन?
- म झुकिन। छाडेर हिँडे। प्रशासनयन्त्र बलियो होस् भनेर सबैतिरबाट आबाज उठिरहेको छ। अहिले कर्मचारीको मनोवल उच्च भएको हुनुपर्छ। यसले जागिरमा भएका र आकांक्षीहरुलाई उत्प्रेरित गर्छ जस्तो लाग्छ। पेशागत धर्ममा बस्नुपर्छ भन्ने माहौल सिर्जना भएको छ। मैले त उज्यालो सम्भावना देखेको छु। आजै राजश्व सचिव कृष्णहरि बास्कोटाले फोन गर्नुभएको थियो। अनुभवी र सिपालु हुनुहुन्छ, सरकारले सायद उहाँलाई नै मेरो ठाउँमा ल्याउला। 'तपाईले राजीनामा दिएकाले मेरो आत्मबल बढेको छ, अब म पनि झुक्दिन, बरु भाँचिन तयार हुन्छु' भनेर वचन दिनुभएको छ।
अनुचित दबाबमात्र कम भए प्रशासन धेरै सुधि्रन्छ। मेरो राजीनापछि उत्पन्न माहोलले धेरैलाई सुध्रने मौका र प्रेरणा मिल्छ भन्ने आशा र विश्वास मैले लिएको छु। विश्वामित्र ऋषि रत्नाकर डाँकु थिए। त्यसैले प्रशासनयन्त्रमा धेरै सुधार हुने आशा छ।
तीन दशक लामो सरकारी सेवामा बटुलेको अनुभवलाई सरकारले अन्यत्र कतै प्रयोग गर्न त सक्ला नि?
- म त्यसमा पनि इच्छुक छैन। सरकारमा बसिरहने अलिकति पनि इच्छा भएको भए म डेढ वर्ष अर्थ मन्त्रालयमै कटाइदिन सक्थेँ। दैनिक प्रशासन सञ्चालन गरेर विदेश घुमेरै मात्र पनि जागिर खान सकिन्थ्यो। आफूले गर्न सक्ने उच्चतम काम गरेरै म बाहिरिएको हुँ।
सरकारले अब संवैधानिक निकाय वा राजदुत वा सार्वजनिक संस्थानमा मात्र तपाईको अनुभव उपयोग गर्न पाउने भयो?
- सरकारी ढुकुटीबाट तलव खाने कुनै पनि नियुक्ति नलिने अठोट गरेर म बाहिरिएको हुँ। मेरा लागि कुनै पद ठूलो वा सानो हुँदैन। काम नै पूजनीय हो। त्यसैले कुनै सरकारी ओहोदाको लालसा ममा छैन।
कर्मचारी संगठन र शक्तिको दलाली गर्ने उच्च प्रशासक, राजनीतिक दलका नेता/कार्यकर्ताको दबाबले पनि तपाईंमा निराशा आएको हो?
- हाम्रा कर्मचारी युनियन शैशवकालमा छन्। उनीहरुले धेरै सिक्न बाँकी छ। कुनै पनि संस्थाको विकासमा केही वर्ष लाग्नु स्वाभाविक हो। संगठनको जीवनमा सिक्ने समय लामो हुन्छ।
संगठनहरुको भूमिका के हो भन्ने विषयमा उनीहरु नै प्रष्ट छैनन्। सामूहिक सौदाबाजी भन्दा व्यक्तिगत स्वार्थसिद्विमा उत्रिएको ताजा उदाहरण नै छन्। प्रधानमन्त्रीले सरुवा नगर भन्ने आदेश दिँदादिँदै कर्मचारी संगठनको दबाबले वन विभागले फागुन अन्त्यमा ठूलो लट् सरुवा गर्यो।
भन्सार विभाग महानिर्देशकलाई रातविरात घेरा हालेर सरुवा निर्णय गराइएको मैलेपछि मात्र थाहा पाएँ। सचिव/सहसचिव राजनीतिक नेता कार्यकर्ता र कर्मचारी युनियनको दबाबमा 'स्याण्डविच' भएका छन्। तर यस्तो दबाब झेल्न नसकेर मैले राजीनामा दिएको भने किमार्थ हैन। यस्ता दबाबसँग वर्षौंदेखि जुध्दै आएको हुँ। राजाको शासनकालमा सेनाले गम्भीर धम्की दिँदा समेत म पिठ्युँ देखाएर भागिन। विभागीय मन्त्री प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सूर्यबहादुर थापासमक्ष गम्भीर आपत्ती जनाउनुभयो। रक्षा मन्त्रालय पनि हेर्ने प्रधाानमन्त्री थापासँग सेना कर्मचारीमाथि जाइलाग्ने हो भने राजीनामा दिन्छु भनेर चुनौती दिनुभयो। अहिले मन्त्रीले मेरो व्यावसायिकता, पेशागत कर्तव्यप्रति विश्वास नगरी मैले असहयोग गरिरहेको आशंका गरेकाले नै जागिर छाडिहाल्ने निर्णय लिएको हुँ।
शाखा अधिकृतसम्मका कर्मचारी संगठित रहने युनियनले कुन शक्तिको आडमा प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव र विभागिय प्रमुखलाई दबाब दिने आँट गर्छन्?
- युनियन राजनीतिक पार्टीसँग आवद्द छन्। यिनीहरुको कार्यशैली पनि कलकारखानाको मजदुरको जस्तो छ। रोजगारदाता सरकार र कर्मचारी युनियनको अन्तरसम्बन्धबारे यथेष्ठ विश्लेषण भएको छैन। मिल मालिक र मजदुरको जस्तो सम्बन्ध निश्चिय पनि हैन। बाजुराको कुनै गाउँमा रहेको स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीले डाक्टरको काम गरिरहेको छ। त्यहाँका विरामीका लागि ऊ नै सरकार हो। त्यसैले जुनसुकै ओहोदाको मानिस सरकार हो। त्यसैले सरकारी युनियनसँग मजदुरको ट्रेड युनियन जस्तो संघर्ष कार्यक्रम ल्याउने अधिकार नहुनुपर्ने हो। कर्मचारीले सिंहदवार घेराउ हाल्न पाइँदैन भनेर हामीले युनियनका पदाधिकारीलाई बुझाउन सकेका पनि छैनौँ। युनियनको भूमिका पुर्नर्संरचना गर्ने विषयमा युनियनका असल नेताहरु सहमत पनि छन्।
अवकाशप्राप्त जीवन कसरी बिताउने योजना बनाउनु भएको छ?
- सामान्य नागरिकझैँ। नेपालीहरु अरबको खाडीमा पसिना चुहाउन जान्छन्। देशलाई गाली गर्दै अमेरिकाको ग्रिनकार्ड वा युरोप, अष्ट्रेलियाको 'पिआर' लिन्छन्। त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्ने कुनै सानो काम गर्नुपर्छ भन्ने तिर्सना छ। त्यसका लागि आफ्नै बलबुताले जे गर्न सकिन्छ गर्नुपर्ला। यही गर्ने भनेर सोचेको छैन। शेष जीवनमा आफूले गरेको कुनै कामले कम्तीमा सय जना नेपालीको मुहारमा मुस्कान ल्याउन सकियोस्। म त्यस्तै कामको खोजीमा छु।