सुरुमा उसले राष्ट्रपतिरूपी हड्डी नागरिक समाजतर्फ फाले पनि नागरिक समाजमा राष्ट्रपति बन्नलायक उचाइ प्राप्त व्यक्ति कोही पनि नभएका कारण त्यसले कुनै अर्थ राखेन। अहिले उसले त्यो हड्डी कांग्रेस, एमाले र मधेसवादी दल सबैतिर फ्याँकेको छ। राष्ट्रपति पदको विषयलाई लिएर कांग्रेसभित्र मतान्तर उत्पन्न गराउने प्रयास पनि माओवादीले नगरेको होइन। गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने कुरामा नेपाली कांग्रेस सर्वसम्मत देखियो। कोइराला राष्ट्रपति बन्ने हो भने कांग्रेसको साधारण सदस्यताबाट समेत राजीनामा दिनुपर्ने प्रस्ताव कृष्ण सिटौलामार्फत माओवादीले राख्यो। त्यसका लागि कोइराला तयार भएको र उहाँले संविधानसभा चुनावअघिदेखि नै आफूलाई तटस्थ राख्ने अभ्यास गरिसकेको जानकारी सिटौलाले प्रचण्डलाई दिए। त्यसपछि प्रचण्डले सार्वजनिकरूपमै भने– 'गिरिजाप्रसाद कोइरालाजस्तो सम्मानित व्यक्तित्वप्रति हाम्रो आपत्ति छैन, अशक्त व्यक्तिलाई दुःख नदिउँ भन्ने हाम्रो चाहना हो,
तर पदका लागि ६० वर्षसम्म काम गरेको पार्टी त्याग्नसमेत मान्छेहरू तयार देखिँदा रहेछन्।' कोइरालालाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसमा सर्वसम्मति देखिएपछि माओवादी कोइराला हदैसम्म पदलोलुप भएको प्रमाणित गर्ने अभियानमा लागेको छ।
यसैगरी, पछिल्लो समयमा माओवादीले 'राष्ट्रपति' रूपी हड्डी एमालेतर्फ फ्याँकेको छ। 'एक तीर दुई शिकार' को रणनीतिअन्तर्गत माओवादीले एमालेका नेता माधव नेपाल र साहना प्रधानलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको छ। दुईजनाको नाम प्रस्ताव गर्दा एमालेमा विभाजन ल्याउन सकिने आँकलन एकातिर छ भने अर्कोतिर कांग्रेस र एमालेबीच बढ्दै गएको सम्बन्धमा भाँजो हाल्न सकिने विश्लेषण पनि छ।
यो पासोमा एमाले सजिलै फस्न सक्ने विश्लेषण गरिएको छ। शाही शासनमा समेत प्रधानमन्त्री बन्नका लागि आमाको काजक्रिया नगरी दौरा सुरुवाल लगाएर दरबारको फोन पर्खिरहेका माधव नेपाल हदैसम्मका पदलोलुप हुन् भन्ने माओवादीलाई राम्रोसँग थाहा छ। वामदेव गौतमहरूले नेकपा मालेको सेरेमोनियल अध्यक्ष दिने प्रस्ताव राख्दैमा एमाले छाड्न तयार रहेकी साहना प्रधानको कमजोरी पनि माओवादीले बुझेको छ। नेपाललाई राष्ट्रपति बनाउने कि साहनालाई भन्ने विषयमा एमालेभित्र विवाद ल्याउनसके माओवादीलाई फाइदा हुने नै भयो। -Tarun weekly